रुद्र उप्रेती
तिम्रा वयका ११४ बर्ष, कहिले विस्मात रहे त कैले हर्ष
नेपाली भाषाको उत्तरआधुनिक काल तिम्लाई सम्झेँ सहर्ष
भाषामा पाहुना शब्द थपिएर वर्णशंकर बने त बरु निको छ
"भोट" गएका आधुनिक मदनहरु स्वर्ण मुद्रामा लोभिएका छन्
मुना कहालीएकै छन् अहिले सम्म आम सँगको विछोड झन्
न त धनले पुग्दो भयो, न त परिवार संगको सह जीवन भयो!
मदन फर्किन झनै कठिन छ, आमाको छाति छियाछियै रह्यो।।
तिमीले स्याहारेको बँगैचामा कहिले "ॐ" नै हरायो भन्छन्
तिमीले रोपेका विरुवाहरुको कहिले हलन्त मेटियो भन्छन्
प्राज्ञ बन्न पनि कुनै पार्टीको सदस्य बन्ने योग्यता तोकियो
भाषा, संस्कृति र साहित्यको मुटु ताकेर रातो, तातो झीर रोपियो।।
तिम्रा पंक्षी पनि मायालुलाई समाचार पु~याउन सक्दैनन् क्यारे
शकुन्तला आफ्नो घर स्याहार्न छोडेर सेरोगेसी आमा बनिन् रे
फिरङ्गीका पछि लगेर आफ्नै संस्कृतीको व्यापार चलाइँदै छ
तिम्रा शालिकमा माला चढाएझैँ गरेर आफ्नै उँचाइ बढाइँदै छ।।
तिम्रो यात्रीको मन्दिर आँफै ढुङ्गा माटोको मुर्ति पुज्न व्यस्त छ
तिमीले देखाएको बाटो हिंड्दैन किन ? आज मान्छे अस्तव्यस्त छ
तिमी दीप बन्यौ र उज्यालो भने सधैं सधैं अरुलाई मात्र दियौ
नेपाली भाषा संस्कृतीलाई सगरमाथाको चुचुरोमा नै चढायौ।।
नाम लक्ष्मी तर तिमी काव्य, निवन्ध र महाकाव्यका सरस्वती हौ
जीवन पर्यन्त सेवा गरेर नेपाली साहित्यको उच्च शिखर ठड्यायौ
सम्झन्छु तिमीलाई यो बिशेष दिनमा भावपूर्ण श्रद्धा अर्पण गर्दछु
प्रतिभाका पुञ्ज सम्झेर तिमीलाई मेरो अन्तर्मनमा विराज गराउँछु।।
***
No comments:
Post a Comment