अन्जना मल्ल श्रेष्ठ
सुनको ढोका भित्र अनगिन्ती भवनहरूभित्र पसेपछि निस्कनै गाह्रो भूलभुलैया कोठाहरू
उज्यालो, चम्किलो प्रकाशले आँखा तिरमिराउने
अनगिन्ती बाटाहरू, मुश्किल छ कुन मार्ग समाउने
जति हिँडे पनि गन्तव्य नभेटाइने अन्तहीन दोभानहरू।।
त्यो सुनको ढोका भित्र अनगिन्ती मान्छेहरू
जताततै भीडभाड छ, परिचयको अभाव छ
एक्लै-एक्लै उराठिलो, आफैं आफैं हिँडिरहेछन्
न त आफ्ना कोही, सबै आफैं आफैंमा हराइरहेछन्
त्यो सुनको ढोका भित्र स्वस्थ परिवारको कमी छ।।
त्यो सुनको ढोका भित्र समुद्रको लहरै लहर छ
तर तिर्खा लाग्दा प्यास मेटाउने कुवाको अभाव छ
हजारौँ इन्द्रेणी सपनाहरू आकाश मै झुन्डिरहेछन्
ती सपनाहरू सजाउनलाइ ऊर्जाको अभाव छ
आकाशको फल आँखातरी मर् भई रहेछ।।
त्यो सुनको ढोका भित्र तीतामीठा जँघार छ
थाकेर पल्टनलाई आमाको न्यानो काखको अभाव छ
त्यो सुनको ढोका भित्र पस्ने मानिसको ठूलो अभिलाषा छ
भित्र पसेपछि निस्कनै नसक्ने गहिरो जञ्जाल छ
तर पनि सबैलाई त्यही सुनको ढोका भित्र पस्ने रहर छ।।
***
No comments:
Post a Comment